काठमाडौँ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १८औँ औँनगर सभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेकी हुन्।
आर्थिक वर्षमा नगरपालिकाले कुल बजेटमध्ये पुँजीगततर्फ २१ करोड ५७ लाख ९० हजार रुपैयाँ र चालु खर्चतर्फ ४८ करोड ५६ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको हिस्सा ठूलो रहेको यो बजेटले सेवा प्रवाह, पूर्वाधार निर्माण र कृषि-शिक्षा-स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।
नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले यस पटकको बजेटलाई रोजगारी सिर्जना, उत्पादन र सेवा विस्तारमा केन्द्रित गर्ने लक्ष्य लिएको बताइन् । ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ भन्ने नारालाई आत्मसात् गर्दै बजेट निर्माण गरिएको उनको भनाइ छ ।
उनले प्रस्तुत गरेको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएकोसमेत बताइन् ।नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीलगायत सेवा क्षेत्रको पहुँच विस्तारलाई समेत बजेटमार्फत प्राथमिकता दिएको छ । ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल सुधारका लागि छुट्टै योजनासहित रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।
मुसिकोट नगरपालिकाको बजेट जिल्लाका १२ वटा स्थानीय तहहरू मध्येको धेरै बजेट हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ५९
लेखकबाट थप