‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पायो, प्रधानमन्त्रीले दिए दुर्गेश थापालाई बधाई

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०८२, १३ : १४
‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पायो, प्रधानमन्त्रीले दिए दुर्गेश थापालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई उनको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पाएकोमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापा र उनको सिर्जनाको प्रशंसा गर्दै बधाई दिएका हुन्।

आफ्नो सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीतरसंगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

गायक दुर्गेश थापा पछिल्लो समयका चर्चित कलाकार हुन्। उनको ‘दुश्मन हेरेको हेर्‍यै’ गीत सार्वजनिक भएको छोटो समयमै १० करोड पटक हेरिएको छ। यो गीत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। प्रधानमन्त्रीको यो बधाई सन्देशपछि सामाजिक सञ्जालमा मिस्रित प्रतिक्रियाहरू आइरहेका छन्।