काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाएका छन।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाएका छन । उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानविन समिति गठन गर्न माग गरे।
उनले भने, ‘सभामुख महोदय के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरु फेरिन्छन्, मन्त्रीहरु फेरिन्छन् तर मानव तस्करहरु सधैं उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय । यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’
राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ । —
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ११ : ३३
लेखकबाट थप