काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो।
‘पार्टीबाट यो प्रस्ताव नै पारित गरौं भन्ने मेरो प्रस्ताव छ । कि २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौं । बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔं । देशले पत्याएको मान्छे छानौं ।’
थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए ।‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौं । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येका नेताको सम्पत्ति छानबिन गर्न लगाऔं,’ थापाले भने, ‘कांग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला । जो परेपनि हामीले मान्छौं भनेर हामीले आँट गर्यौं भने मात्रै अबको जेनेरेशनले तिमिहरूको कुरा सुन्छौं भन्छ ।’
थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ३१
लेखकबाट थप