काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको कारण विपक्षीहरूसँग माग गरेको हो ।
गत शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, सम्पत्ति शुद्धीकरण विभाग र नख्खु कारागारलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनलाई १० जेठमा नख्खु कारागारबाट सजाय भुक्तान गरी छुटे लगत्तै सीआईबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् ।
युनुसलाई २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । कतारबाट आएका तीन पाकिस्तानी नागरिक-मोहम्मद अख्तर, नासिर उद्दिन र नादिया अनवर पनि पक्राउ परेका थिए । पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटका सुबल खान र भक्तपुरका रानाभाट पनि पक्राउ परेका थिए ।
उक्त मुद्दामा युनुसलाई ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय तोकिएको थियो । उनले ६ वर्षको कैद सजाय भुक्तान गरेर शनिबारमात्रै छुटेका थिए, तर लगत्तै सीआईबीले उनलाई पुनः नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १८ : ५५
लेखकबाट थप