आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०८२, ११ : ५०
आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुनेगर बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४।३७ प्रतिशत कायम गरिएको छ ।

असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।

असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । एभरेष्ट, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, सानिमा र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएका हुन् । यी बैङ्कहरूले ६ प्रतिशतमाथि ब्याजदर कायम गरेका छन् ।

कुन बैंकको कति ब्याजदर ? 

एनएमबि बैंक

एनएमबि बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा  मा झारेको छ । त्यस्तै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.०० प्रतिशतमा झारेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको माथिल्लो सीमा ४.५० प्रतिशतबाट ४.०० प्रतिशतमा झारेको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दती ५.५० प्रतिशत बाट ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती ३.१५ प्रतिशतबाट ३.०० प्रतिशतमा घटाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतको माथिल्लो ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा सीमित गरेको छ ।

कुमारी बैंक

 कुमारी बैंकले व्यक्तिगत मुद्दती, संस्थागत मुद्दती र एक वर्षे मुद्दती लगायतका सबैजसो शीर्षकमा ब्याजदर घटाएको छ ।

 

सानिमा बैंक

सानिमा बैंकले बचतको ब्याजदर ५.०३ प्रतिशतबाट घटाएर ४.०३ प्रतिशतमा झारेको छ भने एक वर्षे व्यक्तिगत मुद्दती ४.८० प्रतिशतबाट ४.६० प्रतिशतमा घटाएको छ ।

एनआईसी एसिया बैंक

 एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६०प्रतिशतबाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६० प्रतिशतबाट ५.५५ प्रतिशत झारेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । तर, २ वर्षभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतबाट बढाएर ४.४५ प्रतिशत पुर्‍याएको छ । यसले बैंक दीर्घकालीन निक्षेप आकर्षित गर्न खोजेको देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतको दायराबाट बढाएर ३.०० देखि ४.५० प्रतिशत पुर्‍याएको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशत बाट बढाएर ५.०० प्रतिशत पुर्‍याएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले एक वर्षे संस्थागत मुद्दतीको ब्याज ३.५० प्रतिशत बाट ३.०० प्रतिशतमा घटाए पनि बचत खाताको माथिल्लो सीमा ५.०० प्रतिशतबाट बढाएर ६.०० प्रतिशत पुर्‍याउँदै बचतकर्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदरमा उल्लेख्य वृद्धि गरेको छ । जेठमा ३.५० प्रतिशत रहेको ब्याजदरलाई असारमा ५.०० प्रतिशत पुर्याइएको छ । तर, एक वर्षे संस्थागत मुद्दतीको ब्याज भने ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशतमा झारेको छ ।

नेपाल बैंक 

नेपाल बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर ४.०० प्रतिशतबाट बढाएर ४.५० प्रतिशत पुर्‍याएको छ । यीबाहेक केही बैंकहरुको ब्याजदर सामान्य मात्रै परिवर्तन भएका छन् । 

एभरेस्ट बैंक 

एभरेस्ट बैंकले बचत खाताको ब्याजदरको रेञ्जलाई ब्याजदर ३.०५ देखि ४.०५ प्रतिशतबाट ३.०० देखि ३.०५ प्रतिशतमा झारेको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६४ बाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६४ प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ । 

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको तल्लो सीमा ३.०० बाट ३.०१ प्रतिशत र माथिल्लो सीमा ४.९५ प्रतिशतबाट ४.९६ प्रतिशत पुर्‍याएको छ । संस्थागत मुद्दतीको ब्याजदर ३.२५ देखि ३.५० प्रतिशतबाट ३.०० देखि ३.३५ प्रतिशतमा र एक वर्षे संस्थागत ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा परिवर्तन गरेको छ ।  

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले बचतको तल्लो सीमा ३.०१ प्रतिशत बाट ३.०० प्रतिशतमा र माथिल्लो सीमा ३.२० प्रतिशतबाट ३.१० मा झारेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीको तल्लो सीमा ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा र एक वर्षे व्यक्तिगत ४.१५ बाट ४.१० प्रतिशतमा घटाइएको छ । एक वर्षे संस्थागत ब्याजदर ३.१५ प्रतिशतबाट ३.१० प्रतिशतमा झारिएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

 स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतबाट घटाएर सबै खातामा ३.०० प्रतिशत ब्याजदर कायम गरेको  छ । साथै, एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट ३.०० प्रतिशतमा झारेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागत मुद्दतीको माथिल्लो सीमा ४.५० प्रतिशतबाट घटाएर ४.०० प्रतिशतमा झारेको छ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले संस्थागत मुद्दतीको तल्लो सीमा तथा एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर३.०० प्रतिशतमा घटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस