सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०८२, ०७ : ४४
सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजीवविक्रम शाहले केन्द्रबाट आउने अनुदानमा कमी आएकाले बजेटको आकार खासै नबढ्ने बताए । आकार करिब चालु आर्थिक वर्षकै हाराहारीमा रहने शाहले बताए । उनका अनुसार केन्द्रबाट आउने आउने अनुदान करिब ६४ करोडले कम आएको छ ।

सुरुमा चालु आर्थिक वर्षको वार्षिक बजेट ७५ प्रतिशत खर्च हुने अनुमानमा आधारित रहेर ३१ अर्ब ५९ करोडको सिलिङ दिइएको थियो । केन्द्रबाट नै ठुलो मात्रामा अनुदान कटौती हुँदा अहिले करिब ३० अर्ब ९४ करोडसम्मको वास्तविक बजेट आउने आङ्कलन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम हो ।

यद्यपि प्रदेशको बजेटको खर्चको प्रवृत्तिमा सुधार आएको खण्डमा केही करोडले बढ्न सक्ने आकलन छ । उनका बुझाइमा खर्चको प्रवृत्ति हेर्दा ७० प्रतिशत भन्दा कम खर्च हुने देखिन्छ, जसले गर्दा केही रकम बचत हुन सक्छ । 

यी सबै कुराको समायोजन गर्दा बजेटको आकार ३१ अर्बदेखि ३२ अर्बको बिचमा रहने अनुमान गर्न सकिने शाहले रातोपाटीलाई बताए । शुक्रबारसम्म प्रदेश सरकारले कुल पुँजीगततर्फ ३२ प्रतिशत र चालु खर्च ५४ प्रतिशत भएको छ । समग्रमा ४० प्रतिशत बजेट खर्च भएको छ । 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को तुलनामा बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले पनि चालू आर्थिक वर्ष भन्दा बजेटको अकार घटाएर ल्याउने तयारी गरेको छ। यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । 

प्रतिक्रिया दिनुहोस