पोखरा। पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु १५ लाखभन्दा बढीको तरबुजा बेचेर अरूलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।
सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेको ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बराबरको हानि भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए बापत महानगरपालिकाले उनीहरूलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।
सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बिउ र मलचिङमा सहयोग गरेको उनले बताए ।
पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नम्बर १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ ।
महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १६ : २३
लेखकबाट थप