विवेक पुर्‍याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०८२, १६ : ११
विवेक पुर्‍याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्‍याएर सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन् । झापाको दमका पार्टीका विभिन्न पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

विशेषगरी सदनमा रोकिएका निजामती, विद्यालय र नागरिकता ऐनको संवेदनशीलतालाई बुझेर सदन अवरुद्ध गर्न नहुने निष्कर्षमा आफूसहित सिंगो पार्टी पुगेको प्रचण्डको भनाइ थियो ।

‘हामीले छानबिनका लागि सरकारलाई बाध्य पारेपछि जनताको बृहत् हितका लागि यो गरेको हो,’ प्रचण्डले भने, ‘एकथरी मान्छेहरू जमिन नै भासियो जस्तो गरेका छन् । यो विल्कुल वाइयात कुरा हो । हामीले जे गरेका छौं । त्यो विवेक पुर्‍याएर गरेका छौं ।’

उनले आफू प्रधानमन्त्री हुँदा धेरै मिहेनत गरेर ती विधेयकहरू संसद्सम्म पुर्‍याएको जिकिर गरे । उक्त विधेयकहरू संसद्बाट पारित गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रकै रहेको उनको भनाइ थियो ।

त्यस्तै, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सम्बन्धित केही महत्त्वपूर्ण काम भएको भन्दै उनले संसद् अवरोध गरिराख्नु राम्रो नभएको पनि बताए । ‘यस्तो बेलामा माओवादीले अवरोध गर्नु भनेको यी सबै ऐन पास हुन नदिनु र जनताका मुद्दा थाति राख्न हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ प्रचण्डले भनेका छन् ।