चितवन । चितवन सहित देशैभर गर्मी बढेको छ । गर्मीका कारण चितवनका तीन पालिकाले विद्यालयमा स्थानीय बिदा दिएका छन भने तराइका विभिन्न जिल्लामा स्थानीय तहले विद्यालय धमाधम बिदा दिइरहेका छन । नेपालमा मनसुन भित्रिएपनि देशैभर फैलन सकेको छैन । पश्चिम नेपालबाट पानी पर्न सुरु गरेपनि चितवनसम्म मौसमी प्रणाली बिकास भइसकेको छैन ।
भरतपुर विमान स्थलका अनुसार आज (बुधबार) मध्यान्ह १२ बजे चितवनको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम बढेर ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिजो (मंगलबार) पनि जिल्लाको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन भएको थियो ।
तर, तापक्रम धेरै नभएपनि गर्मी भने हपहप भएको छ । मौसम विज्ञान विभागका मौसमविद् डेभिट ढकालका अनुसार आजबाट पानी परेर गर्मी घट्दै जाने बताउनुभयो । तर यहाँको गर्मी भने कम हुन सकेको छैन । हप्ता दिनदेखि पानी नपर्दा र बदल नलाग्दा अधिकतम तापक्रम कम भएपनि गर्मी बढेको छ । ढकालले भने, ‘हावामा पानीको मात्रा (बाफ) सधै हुन्छ । तर, हुनुपर्ने भन्दा धेरै पानीको बाफ हावामा भएपछि तापक्रम कम हुँदा पनि गर्मी धेरै महशुस हुन्छ । यस्तो मनसुनको समयमा हुने गर्छ । ’
गएको शनिबार (२४ गते) बाट बढेको गर्मी पानी परेपछि क्रमिक रुपमा घट्ने उनको भनाइ छ । हिजो नेपालगञ्जमा सबै भन्दा धेरै ४० डिग्री सेल्सियस, भैरहवा ३९.३ डिग्री सेल्सियस र धनगडी ३८.९ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
आजको मौसम
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा