काठमाडौं । सरकारको नेतृत्व गरिरहेको सत्तासिन दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशनमा आजदेखि नेतृत्व चयनका विषयमा केन्द्रीत रहेर बन्दशत्रमा छलफल हुनेछ ।
अखिलको आजदेखि नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहे पनि प्रक्रिया विवादरहित देखिँदैन । पार्टी नेतृत्वको प्रभाव, आकांक्षीको चाप र ‘सहमतिको’ नाममा भएको गुटगत ध्रुवीकरणले नेतृत्व चयनमा अन्योल उत्पन्न गराएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन शत्रमा 'सकभर सहमति' मा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, त्यसको कार्यान्वयन सहज छैन । बरु नेतृत्व चयनलाई सहज बनाउन गठित ‘हाई कमान्ड’ नै दुई धारमा विभाजित भएपछि सहमतिको सम्भावना झनै कमजोर देखिएको महाधिवेशन प्रतिनिधि बनेर आएका अखिलका विद्यार्थीहरुले बताएका छन् ।
नेतृत्व चयन गर्दा विद्यार्थीको भावना, योगदान र नेतृत्व क्षमतालाई प्राथमिकता दिनुपर्ने हो । तर, अहिले गुटगत भागबन्डा र शीर्ष नेताहरूको रुचिले महाधिवेशनलाई प्रभावित बनाएको उनीहरूको आरोप छ ।
हाई कमान्डमै गुट !
पार्टीको तर्फबाट एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय उच्चस्तरीय ‘हाई कमान्ड’ मा अनेरास्ववियुका पूर्वअध्यक्षहरू माधव ढुंगेल, नविना लामा, किशोरविक्रम मल्ल, ऐन महर, सुनिता बराल तथा हालका अध्यक्ष समिक बडाल छन् ।
सर्वसम्मति खोज्ने भनिएको यो समूह नै गुटमा विभाजित भएको छ । ढकाल पक्षमा ऐन महर, नविना लामा र समिक बडाल छन् भने ढुंगेल पक्षमा किशोर मल्ल र सुनिता बराल रहेका छन् । ढकाल समूहले अध्यक्ष पदमा प्रकाश पौडेललाई समर्थन गरेको छ भने ढुंगेल पक्षले डा. सुजन कडरियालाई अघि सारेको छ ।
पाँच–पाँच आकांक्षी
महाधिवेशनमा अध्यक्ष र महासचिव पदका लागि समान पाँच–पाँच जना आकांक्षी देखिएका छन् । अध्यक्ष पदमा दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई, अञ्जना शिवाकोटी र प्रकाश पौडेल छन् । महासचिव पदमा आरके रोमस, विसका श्रेष्ठ, सुनील कँडेल, कमल जोशी र मदन भण्डारीले दाबी गरेका छन् ।
सहमतिका लागि प्रयास भइरहे पनि नेतृत्व चयन अन्ततः प्रतिस्पर्धाबाटै हुने सम्भावना बलियो देखिन थालेको एक नेताले बताए ।
अध्यक्ष ओलीले विगतका केही संगठनहरूमा जबर्जस्ती नेतृत्व लादेको प्रसंग स्मरणीय छ । प्रेस चौतारीको विराटनगर सम्मेलन र युवा संघको नेतृत्व चयन प्रक्रियामा पनि उनले सहमतिको नाममा आफ्ना पक्षधरलाई स्थापित गरेका थिए । अनेरास्ववियुमा पनि उनी ‘सहमति’को आवरणमा रुचिका आकांक्षीलाई अघि सार्न खोजिरहेका छन् ।
पार्टीभित्र विद्या भण्डारीको सम्भावित राजनीतिक पुनरागमनको चर्चा चलिरहेका बेला ओली पार्टीको आगामी संरचनामा आफ्ना पक्षधरहरूको संख्या मजबुत बनाउन विद्यार्थी संगठनलाई प्रयोग गर्न चाहिरहेका छन् ।
३२ वर्षको उमेरहद लागू भएपछि पुराना नेताहरू स्वतः प्रतिस्पर्धाबाट बाहिरिएका छन् । माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सुरु गरेको यो अभ्यास अन्य संगठनमा पनि प्रभावकारी रूपमा लागू हुन थालेको हो । यसले नयाँ पुस्ताका नेताहरू उदयको ढोका खोलेको भए पनि नेतृत्व चयनको प्रक्रिया पुरानै शैलीमा चलिरहेकाले गम्भीर प्रश्न उठ्न थालेका छ ।
विद्यार्थीको भावना ‘बाइपास’
महाधिवेशनमा प्रतिनिधित्व गरेका धेरै विद्यार्थी नेता र प्रतिनिधिले नेतृत्व चयन प्रक्रियामा पार्टीको अत्यधिक हस्तक्षेपप्रति असन्तोष व्यक्त गरिरहेका छन् । उनीहरूका अनुसार नेतृत्व चयन गर्दा विद्यार्थीको भावना, योगदान र नेतृत्व क्षमतालाई प्राथमिकता दिनुपर्ने हो । तर, अहिले गुटगत भागबन्डा र शीर्ष नेताहरूको रुचिले महाधिवेशनलाई प्रभावित बनाएको उनीहरूको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको गाँउमा अखिल (समाजवादी) को प्यानल विजयी