अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, ०८ : ४७
अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा मुटु, हड्डी लगायत विभिन्न किसिमका प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री अस्पतालकै फार्मेसीबाट उपलब्ध गराउने व्यवस्था मिलाउन सबै अस्पताललाई परिपत्र गरेको छ।

हालसम्म यस्ता सामग्री सरकारी फार्मेसीमा उपलब्ध नहुँदा बिरामीले अस्पताल परिसरमै निजी व्यवसायीमार्फत महँगो मूल्यमा खरिद गर्न बाध्य भएका थिए। यस सम्बन्धमा बिरामी तथा जनप्रतिनिधिबाट गुनासो आएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनमा आगामी आर्थिक वर्षदेखि आवश्यक सामग्री अस्पताल फार्मेसीमै उपलब्ध गराउने निर्णय गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अब अस्पतालमा सबै बिरामीले देख्न सक्ने स्थानमा यस्ता सामग्रीको मूल्य विवरण स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्नेछ। साथै, कुनै पनि नयाँ सामग्री आवश्यक परेमा सम्बन्धित कम्पनी वा आधिकारिक विक्रेताको विवरणसहित मूल्य समेत सार्वजनिक गरिएपछि मात्र बिरामीलाई उपलब्ध गराउन सकिनेछ।

मन्त्रालयले अत्यधिक मूल्यमा सामग्री बिक्री हुने अवस्थाको अन्त्य गर्न, गुनासो नआओस् भनेर सबै अस्पताललाई सचेत गराउँदै औपचारिक पत्राचारसमेत गरेको छ।

यस निर्णयले उपचारको क्रममा बिरामीमाथि पर्ने आर्थिक भार घटाउने तथा पारदर्शिता कायम गर्न मद्दत पुग्ने मन्त्रालयको विश्वास छ।

प्रतिक्रिया दिनुहोस