काभ्रे । काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु हुँदैछ । पनौतीवासीले त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल (जेठ २६ देखि २८गतेसम्म) हिलेजात्रा मनाउँछन् ।
जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्छन् ।
जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकोले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो ।
किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय विकुनारायण ताम्राकार बताउँछन् ।
करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेर्साइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १० : ४८
लेखकबाट थप