रौतहटको मौलापुर नगरपालिका पुरस्कृत

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०८२, १५ : ३९
रौतहटको मौलापुर नगरपालिका पुरस्कृत

काठमाडौं। रौतहटको मौलापुर नगरपालिका मधेश प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरिएको हो । पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ ।

मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । गत वर्षको माध्यमिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

आम जनता पार्टीकी नेत्री रिनाकुमारी साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित बनेकी छिन् । समग्रमा मधेश प्रदेशमा एसईई उत्तीर्ण प्रतिशत ३० मात्रै रहेको छ ।​मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरूपमा चर्चा हुँदै आएको छ । नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुस निःशुल्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस