देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु

रासस

विहीबार, २२ जेठ २०८२, १२ : ५६
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु

दमौली । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु भएको छ । देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो। पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही ठाउँमा आरती र पूजा गरिएको थियो ।

कालीगण्डकी नदीको अस्तित्व जोगाउन कालीगण्डकी नदीको शिर दामोदर कुण्डसम्म पदयात्रा गरिनेछ । देवघाटबाट सुरु भएको पदयात्रा चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र र बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्धेश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा आयोजना गरिएको बताए ।

उक्त पदयात्रामा महेश संन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरीका साथमा गलेश्वर आश्रम, हरिहर संन्यास आश्रमका सन्तहरुको उपस्थिति रहेको छ ।  देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २५ दिनको रहनेछ । तराइदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दूरी ४३१ किलोमिटर रहेको छ ।

महेश सन्यास आश्रमका वर्तमान पीठाधीश युवासन्त स्वामी रमणानन्द गिरीजी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण र प्रवद्र्धन गर्ने दृढ लगाव तथा विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न लागिएको पौडेलले बताए ।

कालीगण्डकी संसारकै ठूलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । त्यसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएका छन् । 

विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिहरुले गण्डकीका पवित्र किनारलाई विचार र ज्ञानसाधनाको केन्द्रकारुपमा प्रयोग गर्दै आएका छन् । 

धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमा समेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन, सामाजिक संरचना तथा अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ । 

प्रतिक्रिया दिनुहोस