सभामुखले विपक्षीलाई भने: गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि छलफल गरौं

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, १३ : ११
सभामुखले विपक्षीलाई भने: गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि छलफल गरौं

काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सदनमा आफ्ना कुरा राख्ने वातावरण बनाइदिन विपक्षी दलहरूसँग आग्रह गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध गर्दै आएका छन्।

गृहमन्त्री लेखकले सदनमा बोल्न सभामुखसँग पटकपटक समय मागे पनि अवरोधका कारण उनले अवसर पाएका छैनन्। सभामुख घिमिरेले सदन सुचारु गर्न आज बिहानैदेखि पहल थालेका थिए। उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर सत्ता र विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका थिए।

बैठकमा सभामुखले ‘पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला’ भन्दै प्रस्ताव राखेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने बताएर निस्किएका छन्।