राजावादीको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन योजना असफल : 'दिप प्रज्वलनको बहानामा निषेधित क्षेत्र मिच्ने योजना'

सरकारको निषेधाज्ञा पछि कार्यक्रम कमलादी सारियो

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०८२, ०८ : १८
राजावादीको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन योजना असफल : 'दिप प्रज्वलनको बहानामा निषेधित क्षेत्र मिच्ने योजना'

काठमाडौँ । दरबार हत्याकाण्डको २३ औं वार्षिकीका अवसरमा नारायणहिटी दरबार परिसरभित्र रहेको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन गर्न खाजेपछि सरकारले त्यसलाई प्रतिबन्ध लगाएको छ ।

हिमानी ट्रस्टको अगुवाइमा राजावादीहरुले आज (जेठ १९ गते) साँझ पूर्व राजा वीरेन्द्रसहित दरबार हत्याकाण्डमा दिवंगत भएका शाही परिवारका सदस्यहरुको सम्झनामा गर्न लागेको दिप प्रज्वलन कार्यक्रम चर्तरब्युह नारायण मन्दिरमा गर्न रोक लगाएको हो ।

सरकारले उक्त मन्दिर क्षेत्र निषेधित घोषित गरिसकेकाले त्यस्तो कार्यक्रम अनुमति बिना गर्न नदिने बताएको छ । राजावादीहरुले प्रारम्भिक रूपमा सरकारले तोकेको निषेधाज्ञा अटेर गर्दै चर्तरब्युह मन्दिरभित्रै दिप प्रज्वलनको तयारी गरे पनि अन्ततः सरकारको कडाइपछि कार्यक्रम स्थल परिवर्तन गर्दै कमलादीस्थित गणेश मन्दिर सारिएको राजावादी नेता जगमान गुरुङले जनाएका छन् ।

दरबार हत्याकाण्डको स्मृतिलाई राजनीतिक मोड दिन खोजिएको भन्दै सरकार तथा सुरक्षा संयन्त्र सतर्क देखिएको छ । पछिल्लो समय राजावादी दल तथा पूर्वपञ्च नेताहरुले राजसस्था पूर्नस्थापनाको माग गदैं जनताका असन्तुष्टिलाई राजनीतिक दाउपेचको हिस्सा बनाउने प्रयास गरिरहेका छन् ।

राजसंस्थाको पुनःस्थापनाका लागि भनेर जेठ १५ यता निरन्तर प्रदर्शन गर्दै आएका राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायतका राजावादी दलहरु राजधानी केन्द्रित आन्दोलनलाई निर्णायक बनाउने रणनीतिमा छन् । उनीहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई एक हप्तासम्म काठमाडौंमै टिकाउने गरी आन्दोलन चर्काउन खोजिरहेका छन् ।

मुठभेड उक्साउने रणनीति ?

विश्लेषकहरुका अनुसार राजावादी शक्तिहरु नारायणहिटी दरबार क्षेत्रलाई ‘भावनात्मक केन्द्र’ बनाएर त्यहीँबाट आन्दोलनलाई झन उग्र बनाउने रणनीतिमा छन् । दिप प्रज्वलनजस्तो कार्यक्रमको नाममा निषेधित क्षेत्र मिच्ने प्रयास त्यसैको संकेत हो । त्यस्ता कदमले द्वन्द्वलाई चर्काउने र मुठभेड निम्त्याउने सम्भावना बढाउँछ ।

निषेधाज्ञा लगाएर सरकारले संभावित भिडन्तलाई रोक्न चालेको कदम यथोचित र सुरक्षामुखी भएको देखिन्छ । आम जनताको सुरक्षालाई ध्यानमा राख्दै राजावादीहरुको गतिविधिमा समयमै हस्तक्षेप गर्नु सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

विगतमा राजावादीलाई संसदमा बलियो बनाउन कुनै न कुनै भूमिका एमाले अध्यक्ष समेत रहेका अहिलेका प्रधानमन्त्री केपी ओलीले नै गरेका थिए । राजेन्द्र लिङदेनलाई ओलीले नै झापाबाट एमालेको सहयोगमा जिताएर संसदमा ल्याएका  थिए । कमल थापालाई त अझ एमालेकै सूर्य चुनाव चिन्ह्रमा चुनावसम्म ओलीले लड्न दिएका थिए ।

२४० वर्ष लामो वंशवादी शासन व्यवस्थाको अन्त्य गरेर जनताले लोकतन्त्र रोजेको स्पष्ट सन्देशसहित राजसंस्था हटाइएको हो । अहिले जनताको त्यही निर्णयलाई उल्ट्याउने प्रयास गर्दै गरिने यस्ता आन्दोलन तथा कार्यक्रमहरु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाविरुद्ध देखिएका छन् ।

राजावादी आन्दोलनको पछिल्लो गतिविधि राजनीतिक पुनरागमनको प्रयास भन्दा बढी अराजक उक्साहट जस्तो देखिन थालेको छ । दिप प्रज्वलन जस्तो भावनात्मक कार्यलाई समेत आन्दोलनको आवरण बनाउँदै निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोज्नु मुलुकलाई मुठभेडतर्फ लैजाने सुनियोजित योजना देखिएको छ ।

सरकारले नारायणहिटी परिसरमा रहेको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन गर्ने राजावादीहरुको कार्यक्रम रोकेपछि उनीहरुले अब कमलादीमा गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस