चितवन । दोश्रो संस्करणको माधवपुर गोल्डकपको उपाधी विभागीय टोली एपिएफले जितेको छ । शनिबार निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुङ्गिएपछि टाइव्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो । टाइव्रेकरमा अभिषेक चर्च रजहरलाई ५-४ गोलले हराउँदै एपिएफले प्रतियोगिताको उपाधी जितेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिमले दोश्रो हाफमा २-२ गोल गरे । अभिषेकका लागी जर्सी नम्बर ११ का एडम सोडिकले दोश्रो हाफको तेश्रो मिनेटमा गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै अभिषेककै ७ नम्बर जर्सीका खेलाडी सुजित बुढाथोकीले दोश्रो हाफको तेर्हौं मिनेटमा अर्को गोल गरेपछि प्रतिद्वन्दी टिमएपिएफ दबाबमा आएको थियो ।
दुई गोल खाएर पछी परेको एपिएफले सम्हालिएर खेल्दै दुवै गोल फिर्ता गर्न सफल भयो । एपिएफका लागी जर्सी नम्बर १० का सविन गुरुङ र जर्सी नं.७ का विज्ञान चौधरीले गोल गरेका थिए । निर्धारित समयपछी थपिएको चार मिनेटको अन्तिम समयमा पाएको सुन्दर मौकालाई एपिएफले गोलमा परिणत गर्न नसक्दा खेल ट्राईब्रेकरमा पुगेको थियो ।
खेलमा एपिएफका गोलरक्षक उमेश कार्की म्यान अफ दि म्याच घोषित भए । साथै कार्कीले समग्र प्रतियोगिताकै ‘उत्कृष्ट गोलरक्षकू को उपाधी समेत जित्न सफल भए । त्यस्तौ एपिएफकै सबिन गुरुङ ‘सर्वाधिक गोलकर्ताु र अभिषेकका समिप ढकाल ‘उत्कृष्ट खेलाडी’ को उपाधीले सम्मानित भए ।
जितसँगै एपिएफले २ लाख २२ हजार २२२ नगदसहित गोल्ड कप जितेको छ । उपविजेता बनेको अभिषेक चर्च रजहरले १ लाख ११ हजार १११ नगदसहित ट्रफि प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई वडाध्यक्ष आसिक तामाङ लगायतले ट्रफि तथा पुरस्कार प्रदान गरे ।
माधवपुर खेलकुद विकास समितिको आयोजनामा रत्ननगर १५ मा रहेको खेलमैदानमा भएको प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको अभिषेक चर्च रजहर उत्कृष्ठ खेल खेलेर पनि उपाधीबिहीन भयो ।
एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा भएको प्रतियोगिता जेठ १० गतेदेखि सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, ११ : ३४
लेखकबाट थप