गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १२ : ५६
गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवको भूमिका पाएका गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी भएका छन् । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा श्रेष्ठ पहिलो पटक सहभागी भएका हुन् ।

२०७२ सालको संविधान जारी भएपछि माओवादीका तत्कालीन उपाध्यक्ष डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएर नयाँ शक्ति अभियान चलाए । भट्टराई अलग भएको केही दिनपछि श्रेष्ठले पनि पार्टी परित्याग गरेर नयाँ शक्ति अभियानमा लागेका थिए ।

१० वर्षको अवधिमा नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीका सहअध्यक्ष भएका श्रेष्ठले २०८० साल चैत ३ गते भट्टराईको साथ छोडेर माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरे ।

जेठ १२ गते पार्टी समायोजन समारोहमा श्रेष्ठलाई सविचको जिम्मेवारी दिएको महासचिव देव गुरुङले घोषणा गरेका थिए । पार्टी समायोजनमा सहभागी नेताहरूको जिम्मेवारी, मध्यपहाडी अभियान, संसद् बैठक प्रभावकारी बनाउने सन्दर्भमा निर्णय लिन अध्यक्ष प्रचण्डले आज बैठक बोलाएका थिए । बैठकमा आफ्नो अनुभूतिजन्य कुरा राख्न प्रचण्डले श्रेष्ठलाई समय दिएका थिए ।

‘माओवादी पदाधिकारी बैठकमा मेरो पहिलो उपस्थिति हो । अध्यक्षले आफ्नो अनुभूतिजन्य कुरा राख्न भन्नुभयो । मैले माओवादी पार्टी मात्र नभएर आन्दोलन भएको विचार राखेँ । जब मैले व्यवहारिक रूपमा माओवादी आन्दोलन हो, मुद्दा हो, अधिकार हो भन्ने बुझेँ त्यसपछि मैले पार्टीमा लागेको हुँ भने । यस्तै नेतृत्व भनेको प्राधिकरण हो । प्राधिकरण कसरी भयो भनेर मैले अनुभूतिजन्य कुरा राखेँ’,  श्रेष्ठले भने ।

पार्टी विभाजन भएको १० वर्षपछि माओवादीमा सचिवको भूमिका पाएका श्रेष्ठ विभाजनअघि पोलिटब्युरो सदस्य थिए । आजको बैठकले नेसपाका कार्यकारिणी सदस्यलाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा जुन जुन पदमा रहेका छन्, सोही अनुसार समायोजन गर्ने निर्णय गरेको छ । जेठ १२ गते नै एकता प्रक्रियामा जोडिएका नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुलाई स्थायी कमिटी सदस्य बनाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस