काठमाडौं । आजको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।
गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।
त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो ।
उच्च निगरानीमा राजावादीहरु
प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।
राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् । दक्षिणी ललितपुरका विभिन्न स्थानबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने उनीहरूको योजना प्राप्त भएका कारण सोहीअनुसार प्रहरी परिचालित भएका छन् ।
भक्तपुरबाट पनि कोटेश्वर हुँदै उनीहरू काठमाडौं प्रवेश गर्ने कारण उनीहरूलाई २ बजेसम्म मनोहरा पुलमै रोकिने भएको छ ।
एमाले प्रदर्शनकारी भने विभिन्न स्थानबाट बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरतिर जम्मा हुन थालिसकेका छन् । उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने गरी प्रहरी टोली परिचालित छ ।
राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।
प्रहरी उपकरण तयारी अवस्थामा
प्रहरीले आफूसँग रहेको वाटर क्यानन, अश्रु ग्यास तथा गोलीगठ्ठाहरु तयारी हालतमा राखेको छ । आजको सुरक्षा व्यवस्थाअनुसार सम्पूर्ण प्रहरी परिचालनको नेतृत्व गर्न काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारी तोकिएका छन् ।
विमानस्थलमा थप टोली
चैत १५ मा भएको राजावादी समूहको अराजकतापूर्ण प्रदर्शनका क्रममा देखिएका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै आज विमानस्थल सुरक्षाका निम्ति नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै
राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन
राजावादीको आन्दोलनमा झडप
जेठ १५ गतेबाट राजावादीको अनिश्चितकालीन जनआन्दोलन घोषणा
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष