बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०८२, १९ : २४
बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट हो । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।

उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ । 

पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्। शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।

 

 
 

प्रतिक्रिया दिनुहोस