रियलले भित्र्यायो २० वर्षीय युवा डिफेन्डर हुइजसेन

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०८२, ०९ : ४३
रियलले भित्र्यायो २० वर्षीय युवा डिफेन्डर हुइजसेन

एजेन्सी । स्पेनिस जायन्ट रियल मड्रिडका लागि जारी सिजन खराब रह्यो । च्याम्पियनस लिगदेखि, ला-लिगा, कोपा डेल रे, स्पेनिस सुपर कपको उपाधि उसको हातबाट फुत्कियो ।

यी चार मुख्य ट्रफीबाट वञ्चित भएको रियल मड्रिडको मुख्य समस्या भने डिफेन्स रह्यो । किनकि, यो सिजनमा रियलले खाएको गोलको तथ्यांक ठूलो छ ।

ला-लिगामा मात्रै रियलले ३८ गोल खायो । कोपा डेल रे मा ११ र स्पेनिस सुपर कपमा ५ गोल खायो । च्याम्पियन्स लिगमा २२ गोल गरी यो सिजनमा रियलले ७६ गोल खाइसकेको छ ।

गत सिजनको तुलना गर्ने हो भने, यो १२ गोल बढी हो । ला-लिगाको अन्तिम खेलमा रियल सोसिडाडले गोल गर्‍यो भने यो सिजन २१औं शताब्दीकै धरै गोल खाएको खराब रेकर्ड रियलले आफ्नो नाममा लेखाउने छ ।

अहिले रियलको डिफेन्स लाइनमा ठूलो समस्या छ । राइट ब्याक तथा कप्तान डानी कार्भाहाल, सेन्टर ब्याक इडर मिलिटाओ, सेन्टर ब्याक एन्टोनिओ रुडिगर, लेफ्ट ब्याक फेर्लान मेन्डी, सेन्टर ब्याक डेभिड अलवा, राइड ब्याक लुकास भास्क्वेज घाइते छन् ।

पहिलो रोजाइका डिफेन्टर चोटले गस्त हुँदाको नराम्रो पीडा रियलले भोग्यो । डिफेन्डर घाइते भएपछि फेड फालभर्दे, चुआमेनी, कामाभिंगा जस्ता मिडफिल्डरलाई डिफेन्स पोजिसनबाट खेलाउनुपर्ने अवस्था समेत रियलमा आएको थियो ।

यसैको फाइदा उठाउँदै विपक्षीले रियलको पोस्टमा ७६ गोल बर्साए । जसका कारण यो चोटबाट उन्मुक्ति पाउन रियल भरपर्दा डिफेन्डरको खोजीमा थियो । यो सिजन इंग्लिस प्रिमियर लिगमा लोभलाग्दो प्रदर्शन गरेका २० वर्षीय स्पेनिस डिफेन्डर डीन हुइजसेनमा रियलको आँखा परेको थियो ।

त्यसो त, हुइजसेनलाई इंग्लिस क्लब लिभरपुलदेखि आर्सनल, चेल्सी, न्यूक्यासलसम्मले ताकेका थिए । तर इंग्लिस क्लबलाई जिल खुवाउँदै प्रभावशाली हुइजसेनलाई कीर्तिमानी रकममा भित्र्याउन रियल सफल रह्यो । रियलले हुइजसेनलाई ५० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको छ ।

रियल मड्रिड एक डिफेन्डरका लायि यति धेरै रकम खर्चेको यो नै पहिलो हो । मड्रिडको इतिहासकै सबैभन्दा महँदा डिफेन्डर हुइजसेन हुन् । यसले पनि प्रमाणित गर्छ कि, रियललाई भरपर्दो डिफेन्डरको खाँचो कति थियो । यी कीर्तिमानी डिफेन्डरलाई अब थप प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस