राजसंस्थावादी आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन: आइडियुबाट राप्रपालाई ऐक्यबद्धता

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०८२, ०८ : २२
राजसंस्थावादी आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन: आइडियुबाट राप्रपालाई ऐक्यबद्धता

काठमाडौ । नेपालमा जारी राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनले अन्तर्राष्ट्रिय समर्थन पाउन थालेको छ। उदारवादी र संवैधानिक राजतन्त्र पक्षधर मध्यदक्षिणपन्थी दलहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल डेमोक्रेसी युनियन (IDU) ले नेपालमा जारी राजसंस्थावादी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आइडियुले २०२५ मे २३ मा सार्वजनिक आधिकारिक धारणा मार्फत नेपालका राजसंस्था पक्षधरहरूको शान्तिपूर्ण आन्दोलनको समर्थन गर्दै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र राजनीतिक अभिव्यक्तिको अधिकारको संरक्षणप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

राप्रपा नेपाल–आइडियुको एक मात्र नेपाली सदस्य
जर्मनीको म्युनिखमा मुख्यालय रहेको IDU मा विश्वका ६० भन्दा बढी देशका ८० राजनीतिक दलहरू आबद्ध छन्। नेपालबाट राप्रपा नेपाल यस संगठनको एक मात्र सदस्य हो।

IDU मा राप्रपा सँगसँगै अमेरिकी सत्तारुढ रिपब्लिकन पार्टी, बेलायती कन्जर्भेटिभ पार्टी, जर्मनीका सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक युनियन (CDU) र क्रिश्चियन सोसियल युनियन (CSU), क्यानडाको कन्जर्भेटिभ पार्टी, अष्ट्रेलियाको लिबरल पार्टी, न्यूजिल्याण्डको नेशनल पार्टी, इजरायलको लिकुड पार्टी, जापानको लिबरल डेमोक्रेटिक पार्टी (LDP), र स्विडेनको मोडरेट पार्टीजस्ता दलहरू रहेका छन्।

राप्रपाको दाबी: आन्दोलन वैध र लोकतान्त्रिक
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपालको राजसंस्था पुनर्स्थापनाको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थनले आन्दोलनको औचित्य र वैधानिकतालाई पुष्टि गरेको दाबी गरिएको छ।

"लोकतन्त्रको मूल्य र नागरिक स्वतन्त्रताको पक्षमा गरिएको आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थनले थप हौसला मिलेको छ," विज्ञप्तिमा भनिएको छ।

आइडियुले सार्वजनिक गरेको आधिकारिक धारणा पनि राप्रपाको प्रेस विज्ञप्तिसँगै संलग्न गरिएको छ।