खानेपानी मन्त्री यादवले गरे हज यात्रीहरूको बिदाई

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, ०९ : १७
खानेपानी मन्त्री यादवले गरे हज यात्रीहरूको बिदाई

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

मक्कामा हज (विशेष प्रकारको नमाज प्रार्थना) गर्न नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए ।

उनले फूल, माला र खादा लगाएर हज यात्रीलाई बिदाइ गर्नुका साथै धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना दिए ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हज यात्रीहरू जाने गर्छन् ।

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१  जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएको जनाइएको छ ।

देशभर रहेका मुस्लिम नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्छन् ।

प्रतिक्रिया दिनुहोस