त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्नेछ । पुलले ३.०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३.९४ किमी कालोपत्र सडकमा यात्रा गर्नसक्ने उनले बताए । यो कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ ।
दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ ।
११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४.३ लेनको सडक हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा एकतर्फी कालोपत्र चैतसम्ममा सक्ने लक्ष्य
नारायणगढ-बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो