यो सरकार चल्न सकेन, राष्ट्रिय सहमतिको सरकार बनाऔं : कांग्रेस सांसद

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, १३ : ४८
यो सरकार चल्न सकेन, राष्ट्रिय सहमतिको सरकार बनाऔं : कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका सांसदले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता देखिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

सांसद गौतमले शीर्ष नेताहरूलाई राष्ट्रिय सहमतिको पहल गर्न आग्रह गरे । राष्ट्रिय सहमति कायम गरेर केही निश्चित दूरी सँगै नहिँडे प्राप्त उपलब्धिहरू संकटमा पर्न सक्ने उनको भनाइ छ ।

‘म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता म देख्छु,’ उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

उनले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको सरकार छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकारजसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’

उनले राज्यका तीनवटै अंग सरकार, संसद्, न्यायालयप्रति जनतामा भरोसा पैदा हुन नसकेको बताए । ‘सरकार सरकारजसरी चलेको छैन । संसद् जसरी चल्नु पर्ने हो, त्यसरी चलेको छैन । संसद्मा जुन ‘भाइब्रेशन’ हुनुपर्ने त्यो छैन । जनताका समस्या जसरी उठ्नुपर्ने हो, त्यो भइरहेको पाउँदिनँ । न्यायपालिका प्रति पनि जनताका आशा भरोसा पैदा हुन सकेको छैन । नयाँ सोच र सम्भावना देखाउन सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस