हाम्रो पार्टी फैलावट भइसकेको छैन : राजेन्द्र पाण्डे

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०८२, १४ : ११
हाम्रो पार्टी फैलावट भइसकेको छैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा (एकीकृत समाजवादी) देशभर विस्तार गर्ने चरणमा रहेको बताए ।

उनले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताए । ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन,’ पाण्डेले भने ।

नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उहाँले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताए । ‘यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबीच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो संगठनलाई पनि सफल बनाउन सक्दैनौँ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरूको भूमिका अविष्मरणीय रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस