काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया शुरू गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले काठमाडौं महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिम्पाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तर्गतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया शुरू गरेको हो ।
काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया शुरू गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात हामीले उक्त कार्यका लागि आज बोलपत्र समेत आह्वान गरेका छौं । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो, चौधरीले भने ।
वितरण सञ्जाल सुधार कार्य, रिङरोड, बलाजु अन्ततर्गत कूल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।
बालाजु ट्यांकीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले जनाएको छ ।
उक्त सेवा सञ्चालनपश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौंको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौंमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ उपत्यकाभित्रको पानी संकटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १५ : २३
लेखकबाट थप