प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : निर्देशक शाक्य

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, १३ : ३७
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् ।  शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् ।

उनले शुक्रबार पिक आवरमा भारतबाट नेपालमा विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत् प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।

कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्ण रूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत गएको बताए । उनले जलवायु परिवर्तनको कारण विभिन्न स्थानमा आउने हावाहुरी र पानीको कारण आकस्मिक रूपमा प्राविधिक अवरोध हुँदा समस्या भएको दाबी गरे । उनले प्राधिकरणले विद्युत् अभावका कारण लोडसेडिङ गर्ने लाग्यो भनेर भ्रममा नगर्न आग्रह गरे ।

‘हाम्रो आन्तरिक उत्पादन कम छ। १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत् ट्रिप भएकाले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सिमाना पुगेको छ,‘ कार्यकारी निर्देशक शाक्यले भने,‘ अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालाजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ । विद्युत् प्रणालीमा धेरै ठाउँमा समस्या रहेको पाए । म आफै एलडीसीमा बसेर हेरेको थिए । प्रणाली कमजोर भएकाले उत्पादन भएर आएको विद्युतले काठमाडौँमा जाँच गर्न खोज्दा बेलाबेलामा ट्रिप भएको हो । त्यही भएर हिजो धेरै पटक बिजुली झ्याप झ्याप भएको महसुस गर्नु भएको हो ।

उनले ढल्केबर–मुजफ्फरपुर लाईन जाँच गर्न दुई वटा नै लाइन ट्रिप भएकाले उक्त लाइनमा डिले हुँदा नेपालको प्रणालीबाट सञ्चालन गर्ने कोसिस गर्दा पिकको समय र आन्तरिक उत्पादन कम भएकाले नधानेर ट्रिप भएको बताए ।  उनले भारतको प्रणालीबाट विद्युत् आएन भने समस्या पर्ने अवस्था रहेको बताए । शाक्यले जलवायु परिवर्तनको कारणले ठुलो हावाहुरी,पानी पर्ने घटनाहरू बढी रहेको उल्लेख गरे । उनले प्राधिकरण प्रसारण लाइन र प्रणाली सुधार गर्नको लागि प्रयासरत रहेको भन्दै प्राविधिक प्रणालीमा सुधार गर्न समय लाग्ने बताए ।

उनले उत्पादन र माग अनुसार प्राधिकरणले आफ्नो प्रशासरण लाइनसँगै दौडन नसक्दा समस्या भएको बताए । उनले विद्युत् प्राधिकरणको संरचनामा लगानी गर्नु पर्ने अत्यधिक जरुरी रहेको बताए ।  उनले भने,‘ यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिनु हो भने ऊर्जा क्षेत्रमा ठुलो सङ्कट र दुर्घटना ल्याउन सक्छ । यो एउटा उदाहरण मात्रै हो । चारैतिरबाट विद्युतको उत्पादन बढ्दै गर्दा त्यही द्रुत गतिमा बढाउन सकेनौँ भने सानो घटनामा पनि बत्ती ट्रिप भइराख्ने अवस्था हुन्छ ।’

प्रतिक्रिया दिनुहोस