काठमाडौँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।
उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।
आफूलाई थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध शिवाकोटी उच्च अदालत पुगेका थिए । चार पटकसम्म पेशी स्थगित हुँदै बिहीबार भएको सुनुवाइमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।शिवाकोटीको घरमा कामदारका रूपमा राखिएकी १५ वर्षीया नाबालिकले ‘आफन्त नेपाल’ नामक संस्थाका प्रतिनिधिसँग आफूमाथि बलात्कार गरिएको पीडा पोखेकी थिइन् । उनलाई विद्यालय पोसाकमै भारततर्फ जाँदै गर्दा उक्त संस्थाले उद्धार गरेको थियो । त्यसपछि उनकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् ।
Tags :उच्च अदालत
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १२ : १४
लेखकबाट थप