महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम सुरु गरिएको जानकारी दिए ।
‘एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।’ उनले भने– ‘बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।’उनका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ ।
भारतीय पक्षले बन्दरगाह निमार्णका लागि रु दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ । सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।
बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।
भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो ।
सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ बैशाख २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो