काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन् । आइतबार काठमाडौँको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठबन्धनमा रहेका दलहरू बिचमा दर्बिलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताए ।
स्थानीयवासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरू विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ती सबै निकायहरू बिच समन्वय गरी जनअपेक्षा पूरा गरिने बताए ।
अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरूको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याइरहेको उनले जनाए । सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामीण क्षेत्रमा स्वरोजगारी र उद्यमशीलताको विकास भई रहेको पनि मन्त्री दाहालले बताए ।
देशका विभिन्न राजमार्गहरू अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको उनको भनाई छ । वर्षायाम सुरु हुनै लागेकाले निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरूलाई निर्देशन पनि दिए ।
सडक निरीक्षण टोलीमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदत्त भण्डारी, इन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरू सहभागी थिए ।
मन्त्री दाहाल शिवमन्दिर त्रिवेणीचोक राष्ट्रिय सहिद पार्क उपभोक्ता समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सहभागी भएका थिए । सो कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई, प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ : मन्त्री दाहाल
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल
फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
मन्त्री दाहाल मनिला प्रस्थान