चितवन बसाइसरी आएका गुरुङ समुदाय भाषा संरक्षणमा जुटे

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०८२, १३ : ०९
चितवन बसाइसरी आएका गुरुङ समुदाय भाषा संरक्षणमा जुटे

मुग्लिन । विभिन्न जिल्लाबाट चितवन बसाइसरी आएका गुरुङ समुदायहरु भाषा संरक्षणमा जुटेका छन् । बसाइसराइँसँगै भाषा लोप हुने अवस्थामा पुगेपछि गुरुङ समुदाय भाषा संरक्षणका लागि जुटेका हुन् ।

भरतपुर महानगरपालिका–११ मा रहेको गोरखाली तमू समाजले भाषा संरक्षणका लागि गुरुङ भाषाको कक्षा सञ्चालन गरिरहेका छन् । बसाइसराइँसँगै भाषा बिर्सने जोखिम बढ्दै गएपछि संरक्षण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गरिएको समाजका अध्यक्ष नेत्रबहादुर गुरूङले जानकारी दिए ।

अहिलेको पुस्ताले पनि भाषा नजाने नयाँ पुस्ताका लागि झनै समस्या हुने हुँदा भाषा नजान्नेका लागि कक्षा सञ्चालन गरिएको उनले बताए । विसं २०६२ मा स्थापना भएको समाजले गुरूङ जातिको भाषा संरक्षण र सम्वर्द्वनलाई केन्द्रमा राखेर काम गर्दै आएको उनको भनाइ छ ।

चितवनमा गुरूङ जातिको बसोबास बाक्लिँदै गएको छ । त्यसमध्ये गोरखाली तमू समाजमा मात्रै करिब १०० घरधुरी आबद्ध छन् । समाजमा आबद्ध हुन बाँकी गुरूङहरु थुप्रै छन् । उनीहरुलाई समाजमा आबद्ध गराउने प्रयास भइरहेको अध्यक्ष गुरूङले बताए। समाजभित्रै कतिपय गुरूङ भाषाबारे अनविज्ञ हुँदा जान्नेबाट नजान्नेलाई भाषाको ज्ञान बढाउनका लागि औपचारिक कक्षा नै सञ्चालन गरिएको उनको भनाइ छ ।

गोरखा, धादिङ, तनहुँ, लमजुङलगायतका जिल्लामा जन्मिएर चितवन आएका गुरूङले भाषा सिकेका हुन् । गोरखाली तमू समाज मात्र नभई चितवनमा रहेका गुरुङ जातिसँग सम्बन्धित विभिन्न संस्थाहरु भाषा संरक्षणका लागि जुटेका छन् । यसअघि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवन दुईहप्ते गुरुङ भाषा कक्षा सञ्चालन गरेका थिए ।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) चितवनका अध्यक्षसमेत रहनुभएका भाषा कक्षाको प्रशिक्षक तुलमान गुरूङका अनुसार चितवनमा विभिन्न जिल्लाबाट बसाइसरी आउने क्रम बढ्दो छ । तर बसाइ सरेर आएसँगै आफ्नो भाषा भने बिर्सदै गएका छन् । विभिन्न समयमा हुने भाषा कक्षा सञ्चालनले युवा पुस्तामा भाषा पुस्तान्तरण गर्नमा सहयोग पुग्ने उनको विश्वास छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कूल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ । तर कूल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस