कैलाली। भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट शुरू गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए ।
‘मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ’, उनले भने, ‘बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।’
वर्षात्का समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौं किसानका लागि चैते धान विशेष बनेको छ ।जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् ।
‘हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन’, सोही ठाउँका बलदेव चौधरी भन्छन्, ‘चैते धान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छ भने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ ।किसानमा चैते धानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताउँछन् ।
‘परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठूलो सहुलियत पाउनुभएको छ । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ’, उनले भने, ‘गत वर्ष करिब पाँच सय हेक्टरमा चैते धानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।’
परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैते धान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बीउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए।
‘एकिन तथ्यांक त संकलन भइसकेको छैन, त्यहीँ एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले दुई सय ५० हेक्टरमा सहयोग गरेको छ’, उनले भने, ‘जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।’ भजनीमा २०६३ सालमा आएको बाढीका कारण एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैते धान शुरू गर्न थालेको विष्ट बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा २० हजार हेक्टरमा चैते धानखेती