महानगरीय ट्राफिक प्रहरीद्धारा यातायात सेवालाई मर्यादित बनाउन आग्रह

मंगलबार, १८ पुस २०७४, १४ : ३७
महानगरीय ट्राफिक प्रहरीद्धारा यातायात सेवालाई मर्यादित बनाउन आग्रह

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात सेवालाई मर्यादित बनाउन सम्वद्ध सबै पक्षलाई आग्रह  गरको छ ।
महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले यातायात सेवालाई मर्यादित बनाउन सवारी धनी, चालक, परिचालक सबैलाई सचेत गराएका हुन् । पर्यटन प्रहरीले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात सेवा मर्यादित र व्यवस्थित बनाउन सकेमात्रै नेपाललाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन व्यवसाय फष्टाउन सक्ने पनि स्पष्ट पारे । प्रहरी नायव महानिरीक्षक खनालले पर्यटन उद्योग मुलुकको समृद्धिको मुख्य आधार भएकाले पर्यटकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने कुरामा यातायात व्यवसायीहरु आफै लाग्नुपर्ने आवश्यकता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यातायात सेवालाई व्यवस्थित बनाएर मात्र मुलुकमा पर्यटकहरु भित्रयाउन सकिने स्पष्ट पारे । उनले पर्यटकहरुलाई आकर्षित गर्न सवारी चालकहरुले सवारी शुल्क सुलभ बनाउनुपर्नेमा जोड दिए । उनले  पर्यटकहरुले नेपालको सवारी साधनको शुल्क धेरै महंगो भएको गुनासो गर्दै आएकाले त्यसमा सहज बनाउनुपर्ने बताए ।

पर्यटन प्रहरी ईकाई भृकुटीमण्डपकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले पर्यटकहरु मुलुकको समृद्धिको आधार भएकाले उनीहरुको यात्रालाई सहज बनाउन यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे । पर्यटक प्रहरीले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा गरी २५ वटा स्थानबाट पर्यटकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस