तिलिचो ताल जाने उचित समय कहिले ?

मंगलबार, १८ पुस २०७४, ११ : ३६
तिलिचो ताल जाने उचित समय कहिले ?

मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।

बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिना देखि मंसिर अन्तसम्म बढी उपयुुुुुुुुुुुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।

कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।

विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ ।

हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । यस तालमा पुग्नका लागि दुईवटा सिजनमध्ये गत असोज कात्तिकमा मात्रै करिब १२ हजारदेखि १५ हजार नेपाली पर्यटकले तिलिचो तालको अवलोकन गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवा बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस