काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले देशमा दुई पाटीको अधिनायकत्व कायम भएको बताएका छन् । सोमबार
विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले दुई पाटीको अधिनायकत्वले मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ लगेको आरोप लगाए । लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको स्थिति देखा परेको उनको भनाइ थियो ।
दुई पार्टीको संख्याले राजनीतिक सङ्कट देखा परेको उनले बताए । ‘राजनीति क्रमिक रूपले सङ्कटग्रस्त नै बनिरहेको छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कुनै अग्रता प्रगति देखिँदैन । मूल्यवृद्धि बढेको बढ्यै छ । महँगी बढेको बढ्यै छ । उद्योग धन्दाको विकास हुन सकेको छैन ।’
सरकारले कतिपय भ्रष्टाचारीलाई धमाधम छोड्न थालेको उनले बताए । ‘भ्रष्टाचारीहरू अब समातिन्छन् कि भन्यो, तिनीहरूलाई धमाधम छोडिँदै छ । उनीहरूले उन्मुक्ति प्राप्त गर्दै छन् । देश अगाडि होइन देश पछाडि पर्न थाल्यो,’ उनले भने ।
प्रमुख दलले नै संविधानका मूल्यमान्यता कुल्चिएर हिँडेको उनले आरोप लगाए । ‘संविधान संशोधन होइन लागू नै भएको छैन । संविधानअन्तर्गत बनाउनु पर्ने तीन दर्जन बढी कानुन बनेकै छैनन् । भएका पनि लागू भएका छैनन्,’ उनले भने । अहिले संविधान संशोधनको केही अर्थ नराख्ने पनि उनले बताए ।
संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोकेको पनि उनले बताए । राजनीतिमा आउने–नआउने विषय उनीहरूकै नैतिकताको कुरा भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल
दुई वटा हात्तीको सरकारका कारण देश सङ्कटमा फस्यो: झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने