भरतपुर २६ का वडाध्यक्षको उद्घोष : महानगरकै नमुना वडा बनाएर देखाउँछु

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, १५ कार्तिक २०७५, १५ : ३८
भरतपुर २६ का वडाध्यक्षको उद्घोष : महानगरकै नमुना वडा बनाएर देखाउँछु

- हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । आजभन्दा १४ महिनाअगाडि झन्डै २० वर्षपछि जतिबेला स्थानीय तहको निर्वाचन भयो, त्यतिबेला भरतपुर वडा नं २६ (साविक दिव्यनगर गाविसको ९ वटा वडा) को चर्चा पटकपटक चुलियो । तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका थिए ज्ञानप्रसाद खनाल । चुनावअघि खेलकुद क्षेत्र, सामाजिक गतिविधि र शिक्षा क्षेत्रमा अग्रसर रहेका खनाल दिव्यनगरको आदर्श माविको व्यवस्थापन समितिमा रहेर कामसमेत गरेका सामाजिक कामका अनुभवी व्यक्ति थिए । 

साविक दिव्यनगर गाविस हाल भरतपुर वडा नं २६ नेपाली कांग्रेसको बाहुल्यता बढी भएको क्षेत्र हो । २०५६ सालको चुनावमा एउटा यस्तो भनाइ चलेको थियो– दिव्यनगरमा बामपन्थी खोज्न लाइट बाल्नुपर्छ । दिव्यनगर गाविस हुँदा तत्कालीन एमाले पार्टी सो ठाउँमा चियाउनै सक्थेन । स्थानीय चुनावको बेला पनि तत्कालीन एमालेले दिव्यनगरलाई आफ्नो कमजोर क्षेत्रको रुपमा लिएको थियो । 

स्थानीय तहको चुनावमा तत्कालीन माओवादी केन्द्रले पनि भरतपुर २६ मा बाजी मार्ने सम्भावना कमै थियो । तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका खनाल एमालेसँग तालमेल गर्न पुगे । त्यतिबेला पार्टी नीति विपरीत नै तालमेल गरेको भनेर तत्कालीन माओवादी केन्द्रले खनाललाई कारबाहीसमेत गरेको थियो । भरतपुर २६ मा ४ वटा सदस्यमा एमालेलाई सघाउने र वडाध्यक्षमा खनाललाई जिताउने गरी एमाले र माओवादी केन्द्रबीच तालमेल भयो । कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेद्वारको १ हजार ४६० मत पाए ।

वडाध्यक्षमा खनाललाई सघाउने समझदारी गरेर एमालेले चारजना वडा सदस्य मात्रै उठाएको थियो । सहमति अनुरुप माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा कोही उठेका थिएनन् । वडाध्यक्षमा माओवादीका खनाल विजयी हुँदा बाँकी चारैजना सदस्य नेपाली काँग्रेसका उम्मेद्वारहरुले जितेको थिए । तत्कालीन एमाले ‘जिल्लाराम’ भएको थियो । त्यतिबेला भनिएको थियो, ‘चतुर राजनीति’ त वडा नं २६ मा पो भयो । यो ठाउँ पूर्व उपप्रधानमन्त्री भइसकेका अमिक शेरचनको ठाउँ पनि हो । अनि कांग्रेसका पुराना नेता पृथ्वीमान गुरुङको क्षेत्र पनि हो । 

वडाध्यक्ष खनाल हिजोआज केके गर्दैछन् ?
अहिले अवस्था फेरिएको छ । केन्द्रदेखि तल कार्यकर्तासम्म तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । वडाध्यक्ष खनालको दिमागमा अहिले स्थानीय तहको चुनावको कुनै सन्देह छैन, छ त केवल वडाको विकासको मात्र । यतिबेला सबैको साथ र सहयोगमा वडा नं २६ को विकासमा होमिएका छन् उनी । भन्छन्, ‘मलाई सबैको साथ र सहयोग छ, यहाँ को प्रतिपक्ष ? को सत्तापक्ष ? सबै विकासमा होमिने कर्मवीर वडावासी छन् । जसले मेरो हरेक काममा सदैव साथ दिइरहेका छन् । काम गर्ने हौसला थपिरहेका छन्’

खनाल सदरमुकामतर्फ कमै देखिन्छन् । आफ्नै वडावासीको घरदैलोको समस्याको सूची बनाउँदै विकासमा लम्किरहेका खनाल आफ्नो कार्यकालभर वडाको सबै सडकलाई कालोपत्रे बनाउने अठोट बोकेर लागिरहेका छन् । उनले सडकलाई पहिलो प्राथमिकता राखेका छन् । कुनै बाटोमा उच्चस्तरीय ग्रावेल गर्ने र कुनै बाटोमा पिच गर्ने काम भइरहेको खनाल बताउँछन् । घोलको बाटोलाई राष्ट्रिय योजनामा पार्ने कसरतमा छन् उनी । 


जनप्रतिनिधि पाएपछि गाउँ घरमा सुशासन आएको अनुभुति भएको छ ।  सामाजिक हिंसाका घटनामा पनि कमी आएको छ । लागूऔषध एवं मदिरा सेवन गरेर हो हल्ला गर्न कार्य वडामा बन्द नै भएको उनको भनाइ छ । 
उनको भनाइ अनुसार विकास निर्माणको काम, ढल निकास, सरसफाइलगायतका काम धमाधम भइरहेको छ । सय वटा विद्युत् पोल गाडिएको छ । दुई वटा कार्यकारी योजना आफैले सेटिङ्ग गररे कार्यान्वयन गरेको उनी बताउँछन् । वडा नं २६ अहिलेसम्म चार वटा पुल (कर्भड पुल) निर्माण गरिएको छ । 

वडाले लागूऔषध तथा दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । त्यस्तै बालबालिका र महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । महिलालाई उद्घोषण तालिमहरु दिइएको छ । त्यस्तै कृषि अन्तर्गत पशु स्वास्थ्य शिविर गरिएको अध्यक्ष खनालको भनाइ छ । सिंचाइको लागि कृषकहरुलाई बोरिङ्ग गाड्नका लागि अनुदान दिने योजना रहेको उनको भनाइ छ । विकास निर्माणमा महानगरकै नमुना वडा बनाएर देखाउने योजना आफूले बनाएको उनले बताए ।  

अध्यक्ष खनाल वडा कार्यालयमा नियमित उपस्थित हुन्छन् । उनी हालसम्म एकदिन पनि गयल नभएको दावी गर्छन् । जनताले नियमित रुपमा सहज तरिकाले सेवा सुविधा पाइरहेका र आफ्नो कामबाट वडावासी सन्तुन्ष्ट भएका उनी बताउँछन् । भरतपुर महानगरपालिकाले वडा नं २६ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्दा पनि उनी कस्सिएर लागेका थिए । 

वडाको जुनसुकै काम सर्वसम्मतीमा भइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘काम गर्दा सानातिना समस्या आउँछन् नै ती काममा विवाद आए आफैँ उपस्थित भएर समस्या समाधान गरेको छु । मलाई कुनै काममा अवरोध छैन, म वडावासीको हो, वडावासी मेरा हुन् । कुनै बाधा छैन, एकनासले विकास दौडिरहेको छ ।’ वडाको क्षेत्रफल १८.६३ वर्ग किमी छ । वडामा १ हजार ९३६७ घरधुरी छ । वडाको जम्मा जनसंख्या ८ हजार ३३७ रहेको भरतपुर महानगरले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस