गण्डकी । गण्डकी प्रदेशभित्र मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनको काम भइरहेको छ । गण्डकी प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने तयारीसहित प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जिल्ला स्तरमा सुझाव संकलनको काम भएको हो ।
मन्त्रालयका सचिव नवराज ढकालले स्याङ्जा, तनहुँ, लमजुङ, बागलुङलगायतका ठाउँमा पुगेर सरोकार भएका पक्षबाट विधेयकबारे सुझाव लिइसकिएको बताए । मंगलबार बागलुङमा आयोजित एक कार्यक्रममा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका जनप्रतिनिधि, गुरुङ र मगर समुदायसँग सम्बन्धित सङ्घसंस्था र अगुवा व्यक्तिबाट सुझाव संकलन गरिएको उनले बताए ।
“विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव लिने काम भइरहेको छ, विधेयकमा थप गर्नुपर्ने विषय र परिमार्जन गर्नुपर्ने विषयमा प्राप्त सुझाव विधेयक निर्माणमा समेटिन्छन्”, सचिव ढकालले भने । विषय विज्ञहरूसहित सम्बद्ध पक्षको सहयोग र सुझावका आधारमा विधेयकलाई पूर्णता दिइने उनको भनाइ छ ।
भाषा आयोगको सिफारिसका आधारमा मन्त्रालयले मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अगाडि बढाएको हो । गण्डकी प्रदेशभित्र बहुसङ्ख्यक नागरिकले बोल्ने मगर भाषा र गुरुङ भाषाको संरक्षण तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन उक्त विधेयक ल्याउन लागिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बताए ।
गुरुङ र मगर भाषाको प्रयोग बढी
मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा रहेको झण्डै २४ लाख जनसङ्ख्यामध्ये १८ दशमलव ७९ प्रतिशतले मगर र ११ दशमलव ३० प्रतिशतले गुरुङ भाषा बोल्छन् । उक्त विधेयकको प्रारम्भिक मस्यौदामा देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त मगर र गुरुङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने उल्लेख छ ।
सबै सरकारी काम कारबाही र कार्यालयमा रहने सार्वजनिक दस्ताबेज मगर र गुरुङ भाषामा अनुवाद गरी अभिलेखीकरण गर्नुपर्ने विषय विधेयकले समेटेको छ । सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउ आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
सरकारी कामकाजका भाषाको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकारले कार्यक्रम तथा बजेट व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ माघ २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती