मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो ।
सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।
उनका अनुसार यसअघि सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने पाँच मिटर चौडाइ र करिब दुई हजार आठ सय मिटर लम्बाइको मोटर बाटोको ट्रयाक खोलिएको थियो ।
ट्रयाक खोल्ने काम सम्पन्न भएपछि आवागमन सहज बनाउने उद्देश्यले मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल आवश्यक भएको भन्दै उक्त स्थानमा ५० मिटर लम्बाइ र सात मिटर चौडाइको पुल निमार्णका लागि डिजाइन गरिएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने सडक स्तरोन्नतिसहित मोटरेबल पुल निमार्णका लागि सहरी विकास मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरी रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई करोड ५० लाख, आव २०८२/८३ का लागि रु सात करोड २४ लाख ७३ हजार र आव २०८३/८४ का लागि रु चार करोड ७४ लाख ७३ हजार बजेट विनियोजन भएको ङिस्याङ गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विनियोजित बजेटअन्तर्गत सहरी विकास मन्त्रालयले पहिले तयार गरेको नक्सालाई परिमार्जन गरी निर्माण सुरु गरिने छ ।
आगामी तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुनेछ । यहाँ मोटरेबल पुल निर्माण भएपछि मिलेरेप्पा गुम्बासहित अन्य धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ माघ २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
नारायणी पुलमा आज राति गाडी चलाउन रोक