काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले ग्लोबल एलायन्स (गाभी)को सहयोगमा चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । उक्त खोप अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने उनले जानकारी दिए ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ । पन्ध्र दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्रा गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमन पापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्ग सरसफाइमा ध्यान नदिँदा हुने गर्दछ ।
नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया