काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।
कम्बोडियाको राजधानी फ्नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को ११ औं पूर्ण सत्रलाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गरे ।
सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडको रूपमा प्रस्तुत गरे । ‘शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ,’ उनको भनाइ थियो ।
जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।
सभामुखले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्ने कुरामा जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे ।
सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहर्याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे । ‘शान्ति उपहार होइन, यो एउटा लक्ष्य हो,’ उनको भनाइ थियो, ‘शान्तिको प्रवर्द्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने