काठमाडौं । नेपालमा मूलधारका मिडियाले कहिल्यै पनि यो उम्मेदवारलाई भोट हाल भन्दैनन् । नेपालमा विभिन्न दलहरूका विभिन्न पत्रकारका संस्थाहरू छन् । जस्तै कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर आदि । तर, आफ्नो सरकार भए पनि पत्रकारहरूमा कुनै समस्या भएमा पनि यिनीहरूले पत्रकार महासङ्घबाट कडा शब्दमा आलोचना गर्छन् । अमेरिकी कथा फरक छ ।
अमेरिकी धेरैजसो मूलधारका मिडियाहरूलाई कुन दल र कुन उम्मेदवारको पक्षमा भन्ने कित्ताकाटै हुन्छ । उनीहरू हाकाहाकी यो दल र यो उम्मेदवार राम्रो भन्दै सिफारिस नै गर्छन् । भोली अर्थात् नोभेम्बर ५ मा अमेरिकी चुनाव हुँदै छ ।
राष्ट्रपतीय चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् । दुई दलीय देश अमेरिकाका मिडियाहरू पनि दुई दलीय जस्तै छन् ।
कुन कुन मिडिया कुन कुन उम्मेदवारको पक्षमा ?
अमेरिकाको चर्चित अखबार न्यू योर्क टाइम्स कमलाको पक्षमा छ । डमोक्रेटिक पार्टीको पक्षमा छ । यो कोरा आरोप मात्रै होइन । अपवाद छाडेर यो अखबारले सबै चुनावमा डेमोक्रेटिक दललाई समर्थन गर्छ । कतिसम्म भने स्थानीय र राज्यको चुनावमा पनि यसले समर्थन गर्ने गरेको थियो । जुन अहिले आएर भने बन्द गरिएको न्यू योर्क टाइम्सले गत अगस्टमा सार्वजनिक गरेको थियो ।
न्यू योर्क टाइम्स जस्तै सीएनएनलाई पनि डेमोक्रेटिक पक्षधर मानिन्छ । यस्तै अमेरिकाको सरकारी सहयोगमा चल्ने एनपीआर नामक रेडियो पनि डेमोक्रेटिक दलकै पक्षधर भनिन्छ । जो बाइडेन पुत्रको ल्यापटक प्रकरण आउँदा एनपीआरले प्रकाशन गरेन । नगरेपछि पत्रकार उरी बर्लिनरले आवाज उठाए । उनको जागिर गयो । यो नेपालको गोरखापत्रमा बेलाबखत हुने अवस्था जस्तै अवस्था हो भन्न सकिन्छ ।
रिपब्लिकन पार्टीको पक्षमा पनि मिडिया छन् । अखबारमा न्यू योर्क पोस्ट र वालस्ट्रिट जर्नललाई रिपब्लिकन कित्तामा राख्ने गरिन्छ । यस्तै टेलिभिजनमा फक्स न्युज रिपब्लिकन कित्तामा छ । अमेरिकी अनुसन्धान गर्ने विभिन्न संस्थाहरूका खोज, जनमत सङ्ग्रह र अरू प्राज्ञिक अध्ययनहरूबाट पनि अमेरिकी मिडियाहरू दलकारिता अगाडी भएको र जनताले कुन दलको कुन मिडिया हो भन्न सक्ने अवस्था छ ।
दलकारिता नगर्ने घोषणा गर्दा वासिङटन पोस्टले गुमायो दुई लाख बढी ग्राहक
अमेरिकी पत्रकारिताका अझ रोचक कुरा यो छ कि म दलकारिता गर्दिन । अब कुनै उम्मेदवारलाई सहयोग गर्दिन भन्नेको पनि अवस्था कमजोर छ । यसको पछिल्लो उदाहरण हो वासिङटन पोस्ट । पोस्टले यो सालबाट कुनै उम्मेदवारलाई समर्थन नगर्ने भन्यो । सम्पादकीय टोलीले कमलालाई समर्थन गरेको सामाग्री तयार भएपछि अन्तिममा आएर खर्बपति मालिक तथा अमेजनका पनि साहु रहेका अखबारका साहु जेफ बेजोसले त्यो मानेनन् ।
उनले अखबारमा लेखै लेखेर ७० प्रतिशत हाराहारी अमेरिकीमा मिडियाको विश्वास नभएकोले विश्वास फर्काउन दलकारिता नगर्ने र स्वतन्त्र पत्रकारिता गर्ने उनले बताए । तर, दलकारिता मन पराउने अर्थात् डेमोक्रेटिक पार्टीले पाउँदै आएको समर्थन नपाएपछि धेरै बिच्किए । ग्राहकहरू घटे । विभिन्न समाचारहरू अनुसार दुई लाख भन्दा धेरै डिजिटल ग्राहकहरू गुमे । एक डेमोक्रेटिक पार्टी पक्षधर सम्पादकले राजीनामा पनि दिए । लस एन्जलस टाइम्सले पनि उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उसले पनि परम्परागत रुपमा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्दै आएको थियो ।
मूलधारले अखबार भन्दा पडकास्टमा अन्तरवार्ता लोकप्रिय
अमेरिकी मिडियाहरूले दलकारिता गरेर हो वा विश्वास गुमाएर हो उनीहरूका दर्शकहरू घट्दो क्रममा छन् । यो धेरैले बुझेका छन् । त्यही भएर उम्मेदवारहरूले मूलधारका भन्दा पडकास्टमा अन्तरवार्ता दिन चासो देखाएका छन् । र, पडकास्टको दर्शक धेरै पनि देखिएका छन् । त्यसका एक उदाहरण हो कमला ह्यारिसले सीएनएनलाई दिएको अन्तरवार्ता र डोनाल्ड ट्रम्पले जो रोगनलाई दिएको अन्तरवार्ता ।
रोगनसँग अन्तरवार्ता दिएका ट्रम्पका दर्शक ४ करोड ४० लाख भन्दा धेरै छन् । तर, सीएनएनमा अन्तरवार्ता दिएकी कमलाका दर्शक आधा करोड पनि पुगेका छैनन् । एकातर्फ दलकारिताको दलदल, अर्कोतर्फ मूलधार भन्दा पडकास्टको लोकप्रियता बढी भएकोले अमेरिकी मिडियाहरूको विश्वसनीयता ७० प्रतिशत नभएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् त्यही रिपोर्टलाई जेफ बेजोसले पनि चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत
हुथी विद्रोहीमाथि अमेरिकी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु