‘ओभरलोड’ सवारी छाड्दै भन्सार : १६ वटा भारतीय ट्रक नियन्त्रणमा

पत्रपत्रिकाबाट

आइतबार, १६ पुस २०७४, ०६ : ५६
‘ओभरलोड’ सवारी छाड्दै भन्सार : १६ वटा भारतीय ट्रक नियन्त्रणमा

कृष्णनगर भन्सारले जाँचपास गरी छाडेका भारतीय मालबाहक ट्रकले ओभरलोड बोकेको भन्दै ट्राफिकले कारबाही सुरु गरेको छ । कपिलवस्तु ट्राफिक प्रहरीले पटक-पटक ओभरलोड मालबाहक ट्रकको भार मिलान गरी भन्सार गरिदिन आग्रह गर्दासमेत भन्सारले बेवास्ता गरेको भन्दै कडाइ गरेको हो । शनिबार मात्रै क्षमताभन्दा दोब्बर ओभरलोड बोकेका १६ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक प्रेमबहादुर रानाले क्षमताभन्दा बढी माल बोकेका साधनलाई भार मिलान तथा जरिवाना गरी मात्र छाड्ने जानकारी दिनुभयो । पहिलोपटक भएकाले एक हजार पाँच सयका दरले जरिवाना तथा भार मिलान गरेका हाँै । अर्को पटक यातायात व्यवस्था विभाग पठाउँछौ, उहाँले भन्नुभयो ।

कृष्णनगर भन्सारबाट आउने अधिकांश भारतीय मालबाहक ट्रकमा ओभरलोड हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल प्रवेश गर्ने मालवाहक साधनको भार क्षमता बढी भए पनि भन्सारले नेपाल पठाउने गरेको छ । क्षमताभन्दा बढी लोड बोकेका सवारीसाधनको भन्सार नगर्ने व्यवस्था भए पनि यसरी छाड्ने गरिएको हो । शुक्रबार क्लिङ्करसहित भन्सार भएको यूपी ७८टी१११९ नम्बरको ट्रकको भारबहन क्षमता २३ टन भए पनि भन्सारले त्यसमा ३८ टनको भन्सार गरेको छ । यस्तै सिमेन्टको कच्चा पदार्थ बोकेर शुक्रबार भन्सार भएको यूपी५३ईटी १२१४ नम्बरको भारतीय ट्रकको क्षमता २३ टन रहेकोमा ३२ टन भन्सार गरी सामान ल्याएको छ । भन्सार गर्ने क्रममा पेश गरिने सवारी दर्ता किताबमै बोक्ने भार उल्लेख भए पनि भन्सार कर्मचारीले बेवास्ता गर्दैआएको पाइन्छ । सिमेन्ट व्यवसायीले एकमुष्ट कच्चा पदार्थको भन्सार गर्दा कुन सवारीसाधनमा कति मालको भन्सार भएको थाहा नहुँदा जाँचमा समस्या आएको ट्राफिक प्रहरीको भनाइ छ  ।

यातायात व्यवस्था विभागको मालबाहक सवारीको भारबाहन नियमन सम्बन्धी कार्यविधि-२०७१ अनुसार आयातित सामानको भारबहन क्षमता मिलान गरेर मात्र ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिएभन्दा बढी भारबहन क्षमताको साधनलाई इजाजत दिनुपरेमा यातायात व्यवस्था विभागको स्वीकृतिपश्चात मात्र भन्सार गर्नुपर्ने प्रावधान रहेकोमा भन्सारले उद्योगीको प्रभावमा परेर उक्त नियम तथा ऐनलाई लत्याएको वाणगङ्गा यातायात व्यवसायी सङ्घका संस्थापक अध्यक्ष रामहरि नेपालको आरोप छ । दैनिक एक सय बढी मालबाहक ट्रक भित्रने उक्त नाकाकै कारण अहिले जिल्लाका यातायात ढुवानी व्यवसायीसमेत आन्दोलित बनेका छन् । ओभरलोड साधन धमाधम नेपाल भित्रँदा व्यवसाय धरापमा परेको भन्दै उनीहरू विरोधमा उत्रँदैआएका छन् । वाणगङ्गा ट्रक तथा यातायात व्यवसायी सङ्घका सल्लाहकार रामजी श्रेष्ठले ओभरलोडकै कारण नेपाली व्यवसायीले बैङ्कको ऋण तिर्न नसकेको बताउनुभयो । नेपाली व्यवसायीलाई धरासयी बनाउन भन्सारदेखि सरकार सम्म दोषी भएको उहाँको आरोप छ । क्षमता भन्दा तेब्बर सम्म ओभरलोड गाडी भन्सार हुन्छ । नेपाली सडक त्यही कारणले जीर्ण बनेका छन् । पुल भासिएका छन् सडक पूर्वाधार धराप बनेका छन् राज्यको सम्पत्ति बिग्रिदै गएको छ, उहाँले भन्नुभयो । राजस्व चुहावटका साथै उद्योगसँगको आर्थिक चलखेलकै कारण नियम उलङ्घन गर्दै ओभरलोड साधनको निर्वाध रूपमा भन्सार हुने गरेको नेपाली व्यवसायी युवराज न्यौपानेको आरोप छ ।आजको यो खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस