हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उनले बताए ।
बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको भने एउटा आंशिक क्षति भएको उनले बताए । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको उनको भनाई छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाइकलमा क्षति भएको उनले बताए ।
प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानान्तरण गरिएको छ भने १०७ परिवारलाई स्थानान्तरण गरिएको छ । बाढी पहिरोको जोखिममा रहेका चितवनका ३ घरका १०० परिवार र दोलखाका एक घरका ७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।
प्रदेशमा काभ्रेका ४ र दोलखाका एक गरी ५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ ।
बाढी पहिरोको घटनामा परेका र जोखिम नियन्त्रणका लागि मकवानपुरमा १०, चितवनमा २०, धादिङमा १०, काभ्रेमा ५०, दोलखामा १०, सिन्धुलीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु