अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने : मुख्यमन्त्री पौडेल

विहीबार, २५ असोज २०७५, १३ : ००
अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने : मुख्यमन्त्री पौडेल

फाइल फोटो

मकवानपुर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण र व्यवहार सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न प्रहरी अझै बढी जिम्मेवार हुनेपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा बिहीबार आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानूनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताए । उनले प्रचलित ऐन कानूनबमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपतको समयमा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानूनी कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताए ।

उनले प्रहरी र नागरिकबीच सहकार्य गरी एकापसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने बताए ।

सो अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले प्रहरी जनशक्तिलाई समयानूकल सुधार गरी प्रदेशस्तरमा जनताको शान्तिसुरक्षा, मानवअधिकारको संवद्र्धन गर्ने र अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए । मुख्यमन्त्री पौडेलले प्रहरी दिवसका उपलक्ष्यमा आयोजित खेलकूद प्रतियोगितामा विजयी प्रहरी खेलाडीलाई नगद पुरस्कार र पदक वितरण गरे । रासस

प्रतिक्रिया दिनुहोस