काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान राज्यको स्वरूप निर्धारण गर्ने दस्तावेजमात्र नभएर सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणको दस्तावेजसमेत रहेको जनाएका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले यस दस्तावेजको प्रभावकारी कार्यान्वयनमार्फत संविधानका प्रावधान र अन्तर्निहित भावनालाई सामाजिक यथार्थतासँग जोड्ने काम राज्यका विभिन्न निकायहरूको कर्तव्यभित्रको विषय रहेको प्रस्ट पारेका छन् ।
२०७२ असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयनको नवौँ वर्ष पूरा भएको उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठले नेपालको संविधान जारी भएको दिनको सम्झना र सम्मानमा आजको दिनलाई संविधान दिवसको रूपमा मनाउँदै आएको चर्चासमेत गरेका छन् ।
‘नेपालको संविधान निर्माण गर्न आ–आफ्ना तहबाट भूमिका निर्वाह गर्नुहुने सम्बद्ध सबैको योगदानलाई आजको यस विशेष दिनमा हार्दिकतापूर्वक स्मरणसमेत गर्न चाहन्छु,’ सन्देशमा उनले भनेका छन् ।
नेपाली जनताका सार्वभौम प्रतिनिधिहरूको संस्था संविधान सभाबाट निर्मित यस संविधानको ऐतिहासिक महत्त्व रहेको उनको भनाइ छ । ‘संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको आफ्नै विशिष्ट स्थान रहेको छ, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालको न्यायपालिका नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न लागिपरेको छ ।’
यसै आर्थिक वर्षबाट न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको प्रधान न्यायाधीश श्रेष्ठले जनाएका छन् । सन्देशमा उनले भनेका छन्, ‘सबै अदालतहरूमा पुराना वक्यौता मुद्दाहरू न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर समयमै न्याय प्रदान गर्न सक्ने वातावरणको क्रमशः विकास गरिँदै लगिएको छ । न्यायिक सुधारका क्रियाकलापहरू सेवाग्राहीको अनुभूतिको तहसम्म पुगी न्यायमा सहज पहुँच पुग्न सकोस् भनेर अनलाइनमार्फत रिट दर्ता तथा भिडियो कन्फरेन्सिङ्ग पद्धतिमार्फत बहस पैरवी एवं बयान, बकपत्र गरिँदै आइएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस
संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनौट गर्ने
प्रधान न्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण