फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा पछिल्लो एक महिनामा रु २० लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा रु २० लाख ४४ हजार नौ सय भेटी सङ्कलन भएको हो ।
सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार आव २०८१/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ साउन २०८१, ११ : ०८
लेखकबाट थप