कविता : अनुभूति निर्मला

आइतबार, १४ असोज २०७५, ११ : ३०
कविता : अनुभूति निर्मला

- निर्झरिणी बनर्जी जोशी

चिच्याएँ बेसरी दुखेर बनमा सुन्छ्यौ की आमा भनी
उस्तै याद गरेँ वरीपरी कतै थियौ कि बाबा पनि
पञ्जा राक्षसी ती शरीर भरीमा तरवार जस्तै चले
मेरो जोड चलेन आमा तिनमा बेहोस बन्दै ढलेँ।

मेरो रोदन त्यो विलायो नभमा आमा तिमी आइनौ
छोरी प्राण मेरी १ दुख्यो कति भनी सोध्नै पनि पाइनौ
बाबा जङ्गलमा थियौ कि घरमा बोली सुनेनौ कसै
चिच्याएर कराएथैँ बल गरी निल्दैथ्यो काल्ले जसै ।
ती साथी सँगी नी रहेनन् साथमा पीडामा एक्लै थिएँ
यो धर्ती उस्तै थियो नभ पनि बाबा म बेग्लै थिएँ
सम्झेथैँ घर त्यो दलान बिचमा खेल्दै बितेका दिन
आएनौ किन त्यो दानव सित बाबा छुटाई लिन ?

मैले बिन्ती बिसाएँ नीचहरूमा जान्छु म जान्छु म भनी
मेरै बाटो नियाली दीन घरमा छन् आमा बस्दी भनी
छन् आमा घरमा ती जीर्ण तनकी मर्छिन् सुने यो कुरा
बिन्ती छोड म जान्छु जान्छु घरमा गर्नु छ आशा पूरा ।

छोडेनन् तिनले ति दंैत्य सरी भै लुछ्दै र लुछ्दै रहे
मेरो देह भयो थिलै थिलो अति पल् पल् म मर्दै रहेँ
गड्दा ति नङरा विभत्स तनमा आमा दुखेथ्यो कति
मेरो कोमल यो गुलाफी तनमा आमा पोल्यो भत्भति ।

मैले ईश्वर सम्झिएँ मनमनै सैयांै र लाखौं गनी
हे ईश्वर् अब त सकिन सहन मुक्ति दिलाऊ भनी
पग्लिन्थ्यो कि त त्यो पत्थर बरु पग्लेन त्यो दानव
आमा दानवको अगाडी कसरी हार्‍यो हरे ! मानव
आमा राक्षसको अगाडी कसरी हार्‍यो कठै ! मानव ।

 

प्रतिक्रिया दिनुहोस