नेपाल र चीनले मिलेर काम गर्नुपर्छः पोख्रेल

रासस

विहीबार, १३ पुस २०७४, १९ : ३५
नेपाल र चीनले मिलेर काम गर्नुपर्छः पोख्रेल

काठमाडौँ । विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यसम्बन्धी सबै खर्च सरकारले व्यहोर्नु परिरहेका अवस्थामा बहुपक्षीय वैदेशिक सहयोग आवश्यक हुने बताएका छन् ।  चीन नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका रुपमा देखिएको नसर्ने रोगको नियन्त्रण र उपचारका लागि काम गर्नुपर्ने बताए  ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख प्रा।डा।श्रीकृष्ण गिरीले दुई देशबीचका चिकित्सकीय ज्ञानसीप आदानप्रदान भएमा उपचारलाई प्रभावकारी बनाउन सहयोग मिल्ने बताउँदै दूर चिकित्सा सेवालाई स्वास्थ्य सेवा नपुगेका ठाउँमा पुर्याउन सकेमा उपचार नपाएर ज्यान गुमाउने स्थिति कम गर्न सकिने भएकाले त्यसतर्फ चीन सरकारको ध्यानाकर्षण गराए ।

साङ्घाई नं १० पिपुल्स हस्पिटलका मुटुरोग विभागका निर्देशक प्रा।डा। यावेइ शुले नेपालमा मुटु रोगको उपचारमा चिनियाँ चिकित्सक सहयोगका लागि तयार रहेको बताए । “हामी विश्वमा पछिल्ला उपचार प्रविधिका बारेमा छलफल गरौं, नेपालमा टेलिमेडिसिन सेवा शुरु गर्न सकियो भने हामीले साङ्घाईबाट पनि यहाँका चिकित्सकलाई सहयोग गर्न सक्छौँ”, उनले भने । बदलिँदो जीवनशैलीका कारण विश्वमा मुटु रोगका बिरामी बढिरहेकाले मुटुरोग नियन्त्रण गर्न मिलेर काम गर्ने समय आइसकेको उनले बताए ।

सोसाइटीका अध्यक्ष धुर्व पौडेलले चीन सरकारको ‘वान वेल्ट वान रोड वाक इन्टु नेपाल’ परियोजनाको शृङ्खलाबद्ध कार्यक्रमअन्तर्गत छलफल आयोजना गरिएको बताउँदै चीन सरकारका तर्फबाट प्रा।डा।शुको नेतृत्वमा नेपाल आएको टोलीले स्वास्थ्य मन्त्रालय र शहीद गंगालाल हृदय केन्द्रका प्रमुखसँग सहयोगका विषयमा कुराकानी गरेको जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस